सिद्धबाबालाई थप तीन दिन थुनामा राख्न अदालतको आदेश

विराटनगर, ७ पुस ।
आफ्नै अनुयायी माथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । आज जिल्ला अदालत सुनसरीले थप तीन दिन थुनामा राख्ने आदेश दिएको हो ।
१६ मंसिरमा पक्राउ परेका गिरीलाई पाँचै पटक म्याद थप गरिएको हो । १६ मंसिरमा चार दिन म्याद थप गरेको प्रहरीले दोस्रो पटक २० मंसिरमा सात दिन र तेस्रो पटक २७ मंसिरमा तीन दिन म्याद थप गरेका थियो । त्यस्तै ३० मंसिरमा सात दिन म्याद थप गरेको थियो । प्रहरीले सिद्धबाबाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाइ बुझाइसकेको छ ।
सरकारी वकिलको कार्यालयले मुद्दा दर्ताका लागि कागजी प्रकृया मिलाउन तीन दिन म्याद थप गरेको हो । सुनसरी अदालतले आज तीन दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो ।
महिला अनुयायीले ४ कात्तिकमा सिद्धबाबाले बलात्कार गरेको भन्दै उनीविरुद्ध किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले गिरीलाइ १६ मंसिरमा विराट नर्सिङहोमको आइसियूबाट पक्राउ परेका थिए ।
पक्राउ पर्नुअघिदेखि विराट नर्सिङहोममा भर्ना भएका गिरीको छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गाैलाको पत्थरीको समस्या भएको अस्पतालले बताएको छ । स्वास्थ्यमा सुधार आएपनि गिरीले स्वास्थ्यलाई कारण देखाएर अस्पताललाई नै हिरासत कक्ष बनाएका छन् ।