एक वर्षमा २० अर्बको मोवाइल आयात

गत आर्थिक वर्ष २०७५र७६ मा मोबाइल सेटको आयात ३१ प्रतिशतले घटेको छ । आव २०७४÷७५ मा ६२ लाख २३ हजार मोबाइल सेट आयात भएकोमा २०७५÷७६ मा ४२ लाख ४७ हजार मात्रै सेट नेपाल भित्रिएको हो । आव २०७४÷७५ मा २४ अर्ब ८७ करोडको मोबाइल भित्रिएको थियो ।
 गत वर्ष भने १९ अर्ब ८७ करोडको मोबाइल नेपाल आयात भएको भन्सार विभागले जनाएको छ । अर्थात गत वर्ष ५ अर्ब ६० करोड रुपैयाँ कम रकम मोबाइलका लागि विदेशीएको छ । विभागका अनुसार मोबाइल आयात घट्दा पनि राजस्व भने बढेको छ । आव २०७४र७५ मा मोबाइलबाट सरकारले ३ अर्ब ३८ करोडको भन्सार राजस्व उठाएकोमा गत आवमा ३ अर्ब ५२ करोड रुपैयाँ उठेको छ ।
 आयात ३१ प्रतिशतले घटेको अवस्थामा पनि भन्सार राजस्व ४ प्रतिशतले बढ्नुको कारण मोबाइलमा दिइने मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको प्रावधान हटाउनु हो । आव २०७४र७५ सम्म मोबाइल आयात गर्दा लाग्ने भ्याटको ४० प्रतिशत राजश्व पुनः व्यापारीले नै फिर्ता पाउँथे । तर, बजेट भाषणमार्फत अर्थमन्त्री युवराज खतिवडाले सो सुविधा कटाएर थप ५ प्रतिशत अन्तःशुल्क तिर्नुपर्ने प्रवन्ध गर्नुभयोे । यसका कारण राजश्व केही बढेको भन्सार विभागका एक अधिकारीले बताए ।