पशुपती सा. वनद्वारा २ विद्यालयलाई २ लाख २० हजार प्रदान

पथरी शनिश्चरे १० स्थित पशुपति सामुदायिक वनले सामाजिक उत्तरदायित्व स्वरुप स्थानिय दुई सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ।

सामुदायिक वनको नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम नै शिक्षामा लगानी स्वरुप दुई विद्यालयलाई आर्थिक सहयोग गरिएको सामुदायिक वनकी सचिव मैना फुयाल आचार्यले जानकारी दिनु भयो।
सामुदायिक वनको सामाजिक सुरक्षा कोषमार्फत पथरी शनिश्चरे ९ को सिंह वाहिनी माध्यमिक विद्यालयलाई १ लाख २० हजार रुपैयाँ र ४ नम्बर वडाको जनकल्याण आधारभूत विद्यालयलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको सामुदायिक वनका अध्यक्ष इश्वर चौहानले बताउनु भयो।
आज दुवै विद्यालयका प्रधानाध्यापकहरुलाई विद्यालयमै पुगेर वन पदाधिकारीहरुले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन।

सिंहवाहिनी मावीको पर्खाल निर्माण र जनकल्याण आधारभूत विद्यालयलाई झ्याल, ढोका लगायतका फर्निचर खरिदका लागि सो रकम प्रदान गरिएको अध्यक्ष चौहानको भनाई छ।
वनले प्रदान गरेको रकमको सहि उपयोग गर्दै पुर्वनिर्धारित कार्यमा नै खर्च गर्ने प्रतिबद्धता सिंहवाहिनी मावीका प्रधानाध्यापक जगतमणी गौतमको रहेको छ।
पशुपति सामुदायिक वनले नगरमा शिक्षा,स्वास्थ्य लगायतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउदै आएको छ।