जुम्ल्याहा बच्चा जम्मिएको भोली पल्टै गायब

मोरङको जहदा–४ मा मानसिक स्वास्थ्य समस्या भएकी एक महिलाले पाएको जुम्ल्याहा बच्चा जम्मिएको भोली पल्टै गायब पारिएको छ । पुस २ गते जुम्ल्याहा बच्चालाई जन्म दिएकी सुत्केरी महिलालाई समेत गायब पारिएको छ ।
स्थानीय केही व्यक्तिहरुको मिलेमतोमा बच्चा गायव पारिएको आशंका गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको रोहबरमा जिल्ला प्रहरी कार्यालयको टोलीले रातभर सुत्केरी महिला र बच्चाको खोजी गरेपनि उनीहरुलाई फेला पार्न नसकिएको खोजी कार्यमा संलग्न सामाजिक युवा अभियन्ता पेरिस सुवेदीले जनाउनुभयो ।
आफूहरु जहदा विभिन्न ठाउँमा गएको तर यताबाट उता उताबाट यता भन्दै आफूहरुलाई अल्मल्याएको बताउनुभयो । जिल्ला प्रशासन कार्यलय मोरङको रोहबरमा ती आमासहित जुल्याहा बच्चाको उद्धार गरि संरक्षणका लागि विराटनगरस्थित मानव सेवा आश्रमलाई दिने सल्लाहा अनुसार उद्धार टोली त्यहाँ पुगेको थियो ।
दिउसो आमा र बच्चा दुबैलाई भेटेर फर्किएको टोली बेलुका उद्दार गर्न जाँदा रित्तै फर्किनु परेको थियो । एक दिनकी सुत्केरी महिलासहित जुम्ल्याहा बच्चा विक्रि गर्न मोलतोल भएको थानीयले आशंका गरेका छन् । सुत्केरी महिला बच्चा सहित हराउनुले धेरै आशंका जम्मिएको स्थानीयको भनाई छ ।
यस सम्बन्धमा एक टेलिभिजनसँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी विश्व अधिकारीले सुत्केरी महिला र बच्चाको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो ।